कलिला राजकुमार, गहन षोज

 

बिक्रम सम्बत १९२१ आश्विन्  वदी ३

हनुमानढोका राजदरवार, नेपाल

 

गुरुज्यु मा दर्शन् टक्रायाँ ।

दर्शन वलेट महाराज। हजुर का गाथमा सदा सुख, शान्ती र समृद्धी रहोस् । हजुर आफ्ना पुर्षासरी चक्रवर्ती राजा बनिबक्सनु हवस् । अत महाराज, कालिदासको रघुवंश पाठ कंठ गरिबक्सन भया ?

गर्याँ, गुरुज्यू । तर… आज अर्कै कुरा जान्ना मन् थिया ।

बिजयराज बुढा को पुरानो बानि, सोधने कुरा सोधी पाठको तम्तयारी तिर लागि सक्या थिया ।  आसनी मा पलेटी मारी पाण्डुलिपिका डोरी फुकालिकन पाताहरु फैलाया । आफ्ना अगाडी आधा चन्द्राकार रुपमा सजाया । सिलायेका ग्रन्थ हरु पोकाबाट फुकाल्या । अनि आफ्ना लुगाका  कुनाहरु पलेटिमनी कोच्या … एसरि पाठको तयारी मा लागेका बिजयराज लाई सदा अदपमा  बसने, पाठ पढने वलेट महाराज त्रैलोक्य बिक्रम शाहको नौलो जवाफले अलमल पार्या । अनि टक्क रोकि कन राजकुमार लाई गमेर हेर्या र बोल्या ।

हुकुम् महाराज ।

आज गौतम बुद्ध का बारे जान्न मन् गर्याँ ।

गौतम बुद्ध… हवस्  महाराज । तर पहिले रघुवंश सकाऔं । महराजले बीस पाता पनि कंठ गरीबक्सेको छैन। प्राचीन संस्कृत काब्य शैलीको बढिया नमुना हो यो… अनि यसपछि कौटिल्य को अर्थशास्त्र । नजर हवस्, ऊ ताहाँ टुलु टुलु हामी लाई हेरेर बस्या छ ।

तर पैले गौतम बुद्ध का जिवनी जानिबक्सने हुकुम् भया ।

बिजयराजले राजकुमारको बोलिमा अडान देष्या । गुरुलाई “हुकुम्” जस्ता कडा लबज् चलायाका किं अर्थ लागछ  बिजयराजले सहजै बुझ्या । कहिल्यै अफूलाई “बक्सने” नभन्ने राजकुमार ले अहिले भन्या को भेद पनि बुझ्या ।  

लौ त भनी बिजयराज ले आफ्नो बानि अनुसार पाठ पढाउनु अघी तान्ने लेघ्रो तान्या र षुरु गर्या…

 …अँ∫∫∫अँ सिद्धार्थ गौतम कपिलवस्तु राजघराना मा जन्मेका हुन् । इन्ले भारत राज्य को गया मा पिपलको रुख मनि निर्वाण प्राप्त गरेका हुन् । यसपछी इनि गौतम बुद्ध कहलिए । षासमा चाहिं इनि श्री विष्णु भगवान का रूप हुन्। आगौं साल विष्णुपुराण औ भगवतपुराणका पाठ पढता इनका बारे महाराजले धेरै जानी बक्सने छ । अहिलेलाइ यति भनौँ, इनि विष्णु भगवान का अवतार हुन्… वामन, परशुराम, राम, कृष्ण, अनि इ गौतम बुद्ध, त्यस् पछि कल्की।

तर गुरुज्यू… सिद्धार्थ गौतम को जिवनमा के के भया ? उनले के के सोच्या ? हिजो म सिम्बु डाँडा गएथेँ । ताहाँ एक बौद्ध भिक्षु भेट भया । बहुतै ज्ञानी भिक्षु रहेछन ति, पंडित गुणानंद नाम का । गुरुज्यू ले नाम सुन्न भा छ ?

अहँ, छैन ।

उही अमृतानंद पन्डित… रजिडन्ट हज्सनका हितैषी… का छोरा रहेछन । जे होस्, इ पन्डितले भन्या, सिद्धार्थलाई सबै पुगिकइ थिया ।  जमान स्वास्नी । घर परियार । काषको वालष छोरो । भविषेको पाकेको राजगद्दी । तर एक दिन इ सबै छाडी बन पस्या । फकीर भया । शिर मुडाया ।

 हो। एस्तै गर्या थ्या, इनले।

तर क्यान गुरुज्यू … क्यान एस्तो गर्या ?

खै… इनि बालष काल देषी बैरागी पाराका थिया होला । कसइको एस्तै हुनछ राषी मा, ललाटे लिषितं । भाग्येमा लेखे अनुसार इन्ले एक दिन बेरामी मानिष देष्या । अनि बूढी आइमाई देष्या । अनि मरेको मानिष…

इ सबै हिजो मलाई पंडित ले सुनाया । तर क्यान गुरुज्यू, क्यान त्यागे सब? उनी ता म जस्तै थिया । राजकुमार । म ता इ सबै त्यागेर जाने सोचन पनि सकन । उन्ले छाडे ।  क्यान?  कसरि?  रातको भरमा दर्बार त्यागदा उनले क्या सोचे ? उनको मनमा क्या कुरा षेल्या?

विजयराज जवाफ दिनु अघि निकै बेर गमे ।

वलेट महाराज, इ सबै गहन सवाल हुन् । सबैको जवाफ, सबैको भेद श्रीमद्भागवत गीतामा षुलेको छ। गीतामा सबै कुराको सार छ । महाराजलाई गीता अठार बर्ष नाघिबक्से पछि , आगौं साल सुरु गरुँला सोच्या थ्या। तर अब एसो गर्न्या । रघुवंश बिचैमा टुंग्याई एक साता…

बिजयाराज का बचन बिचमई टक्क रोकन्या गरि युवराज त्रैलोक्य ले आफ्नो हात उठाया । हत्केला  बिजयाराज का मुष तिरै पर्न्या गरि राष्या ।

पुराना गुरुषलकका, दिक्षा गुरु मानिराष्या लाई एसरी अपमान गर्या बिजयाराजलाई पचन ता नपच्या। तर बिजयाराजले आजसम्म इ सतिले सरापेको दर्बार भित्र  धेरै नाटक देष्या, धेरै कुरा सिष्या । आफना रीस राग आफई मा राषन सिक्या ।  तेसईले अहिले इ कलिला राजुमार का माथि नषनिया। मुष बंद राषी बस्या ।

यता युवराजले फेरि भन्या…

हन गुरुज्यू ।  मलाई गीता पढ़न्या मन् छैन ।  मलाई सिद्धार्थ गौतमले किन घर परियार दर्बार छाड्या बुझन मन छ ।  दुधे बालष छोरो छाडेर कसरि जान सक्या? श्रीमान् का जिमिवारी कसरि चटक छाड्या? गद्दी, राजकजका जिमिवारी, पुर्षाले जितेका जोडेका ढुंगा लाइ कसरि त्यागन सक्या?  त्यागदा कसरि मुटु दरो बनाया? … कि उन्को मुटुनै थियेन ?  उनले अफनो जिमिवारी लत्याएका हुन् त ? क्या सिद्धार्थ गौतम इ जगतका सबैभन्दा लुच्चा अहंकारी बुद्धि मक्किएका कम्जोर …

युवराज त्रैलोक्य बिचमा एकाएक रोक्या । उनको दम बढेका थिया । स्वा सवा गर्या । कान हरु रात राता बनाया । इ सब विजयराजले नजिकबाट हेर्या । राजकुमारका  हविगत उनलाई अनौठो लाग्या । तर अलि अलि माञाँ पनि लाग्या ।

रिसानी माफ़ गुरुज्यू , अब आजको पाठ बन्द गरन्या । 

एति भनी युवराज आफनो रघुवंश पुस्तक का पाताहरु बटुल्न थाल्या । बटुल्दा उनका हात थर्थर कापेका थिया। अनि उठेर बिजयराज लाइ हतार्ले दर्शन् गर्या, फनक्क फिर्या  । गम्भिर अनुहार लिई, जति बाकी रह्याको राजसी ठाँट थिया जमा गरी कोठाबाट हिन्या ।

फनक्क फिर्नू अघि बिजयाराजले राजकुमारको मुषमा धेरै ठुलो दुष देष्या ।

बिजयराज सोचमा डुब्या । सुस्तरी पाठका पुस्तक पाण्डुलिपि बटुल्न थाल्या । सबई डोरीले बाँधी थन्को लगाया । अनि लोहन चोक माथि दोस्रो तलामा रहेको इ कोठा का झ्यालबाट बाहिर हेर्या ।

क्यान सबै त्यगिकन गया?

क्या जटिल सवाल । हुन त विजयराज लाइ एस्को मामुली जवाफ थाहा नभयाको हन ।  तर विजयराज को सूक्ष्म तर्क गर्न सकन्या, शास्त्रार्थ गर्न रमाउन्या बुद्धि ले यो सवाल जब जब गहिरो  सँग पहल गर्न षोज्या, तब तब उन्ले केहि नभेट्या ।  वेद वेदान्त उपनिषद पुराण काहीँ पनि इ कुरा कोटयाका नपाया ।  कतै कतै बुद्ध लाइ विष्णु अवतार मानिएको पाया ।  काशी मा फेला परेको एक पाण्डुलिपि मा ता ञाहाँसंम भनेको पाया कि बुद्ध मानिष लाइ वेदको पथ बाट भड्काउने बदमाष हो रे । तर उनले क्यान सबै त्यगिकन गया?… इ कुराका भेद काहिँ नपाया ।

येका येक विजयराज इ सवाल-जवाफ बाट थाक्या । षास कुरो गरउ भन्या लहरो तान्दा पहरो जान्छ भनेजस्तइ कलिला राजकुमारका इ गहन षोज हरु ले कोट्याउँदा विजयराज गर्ल्याम् गुर्लुम् भया । कुनै कुरामा हार्याको जस्तो देषिया । सत्र बर्ष देषि यो अभागी दर्बार भित्र जंगबहादुर का छायाँ मा बसी राजगुरु बन्ने ढोंग गर्न्या बाट पनि उनी थाक्या ।

बिजयराज अझ झ्यालबाट बाहिर हेर्या हेर्यै थिया । बुढाको कूप्रो ढाड, अहिले झन् कूप्रो भया ।

बाहिर भंगेरा र परेवा हरु दर्बारका टुँडाल र खोपा हरु मा भुर्भुर गर्दै थिया ।  ईन्का मसिना कपास सरी भित्रि प्वाँखहरु बेला बेलामा झ्याल भित्र उडी सुस्तरी बिजयराज अगाडि भइँ को फारसी गलैंचामा षस्या ।  बाहिर आकाशमा ससाना गोला बादलका भुवाहरु दशैँताका को डुब्दो घाम को रंगले बलेर हलका सुनौलो देषिया ।  इ सब मन् हर्ने दृष्य देषी नरमाउन्या नेपाली मन् काहाँ होला र ?  बिजयराज पनि रमाउन्या थिया।  तर आज इ देषीकन उनका मन नियास्रो नै रह्या ।

केहि पछि विजयराज पाठको आसनीबाट बिस्तार उठ्या ।  उनका मुषमा नयाँ इरादा देषिया ।

जंगबहादुर मरोस् बाँचोस, मलाइ मतलब छइन । यो पापले कमायाको राज्ये आफइ सम्हालोस् ।

∫∫∫

पण्डित विजयराज पाण्डे आफना राजगुरु र धर्माधिकार मान पदवी जागीर षानगी इ सबई त्यागी करिब दुइ मैन्हा पछि बिक्रम सम्बत १९२१ मार्ग वदी ११ का दिन श्री काशी बास चल्या ।

∫∫∫

तस्बिर: बिक्रम सम्बत १७६२-१७६३ मा काठमान्डुमा बनाइएको, गौतम बुद्धका जिवनका प्रमुख दृश्यहरु झल्काइएको, बहा-बही हरुमा बिशेष चाड पर्व हरुमा प्रदर्शन गरिने बिलन्पौ को एक सानो भाग।
समर्पित साथी कुल थापामा: २४ बर्ष अघि पाटनको अक्ष्येश्वर महाबिहारको प्रांगणमा लेखकलाई बौद्धमार्ग चिनाए वापत ।

यो कथा को अंग्रेजी संस्करण यहाँ पाइन्छ ।

Share your thoughts.